×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

मातृभूमिको पीडामा हाइफाका नेपाली एकजुट, दीप बालेर श्रद्धाञ्जली र राहतका लागि सहयोग अभियान

मातृभूमिको पीडामा हाइफाका नेपाली एकजुट, दीप बालेर श्रद्धाञ्जली र राहतका लागि सहयोग अभियान

हाइफा, इजरायल — मातृभूमि नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै इजरायलको हाइफामा रहेका नेपालीहरूले दीप प्रज्वलन गरी मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, विपद् पीडितहरूको सहयोगका लागि राहत संकलन अभियानसमेत सञ्चालन गरिएको छ। हाइफास्थित मर्गोआ नर्सिङ होममा कार्यरत नेपाली परिवारको पहलमा आयोजित श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा करिब ७० जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नेपालीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। सहभागीहरूले मौनधारण गरी शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेका थिए।

कार्यक्रमबारे प्रज्वल लामाले जानकारी दिएअनुसार, विदेशमा रहे पनि मातृभूमिमा परेको विपत्तिको पीडामा नेपालीहरू एकजुट भएर साथ, सहयोग र ऐक्यबद्धता जनाउने उद्देश्यले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो। नेपाली झण्डासहित सहभागीहरूले विपद् पीडितप्रति ऐक्यबद्धता जनाउँदै “एक दीप श्रद्धाञ्जलीका लागि, एक सहयोग पीडितका लागि” भन्ने भावनासहित मानवीय एकताको सन्देश दिएका थिए।

श्रद्धाञ्जलीसँगै राहत संकलन अभियान

श्रद्धाञ्जलीसँगै राहत संकलन अभियान कार्यक्रम केवल श्रद्धाञ्जलीमा मात्र सीमित नभई नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको सहयोगका लागि आर्थिक सहयोग संकलन अभियानलाई समेत निरन्तरता दिइएको छ।

प्रज्वल लामाका अनुसार, पीडितहरूको सहयोगका लागि मर्गोआ नर्सिङ होमको कम्पनी लबीमा Donation Box राखिएको छ, जहाँ इच्छुक महानुभावहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न सक्नेछन्। संकलित रकम नेपालका विपद् पीडितहरूको राहतका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी पनि उनले दिएका छन्।

विदेशी भूमिमा रहेर पनि नेपालको दुःख र संकटमा नेपाली समुदायले देखाएको एकता, संवेदना र सहयोगको भावनाले हाइफामा आयोजित उक्त कार्यक्रमलाई विशेष बनाएको छ। देशबाट हजारौं किलोमिटर टाढा रहे पनि नेपाली मन मातृभूमिकै पीडासँग जोडिएको छ भन्ने सन्देश हाइफामा बालेको प्रत्येक दीपले दिएको थियो।

 

प्रतिकृया दिनुहोस्