×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

बागमती प्रदेश एमालेद्वारा बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत अभियान तीव्र

बागमती प्रदेश एमालेद्वारा बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत अभियान तीव्र

ललितपुर । नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले भोटेकोशी नदीमा आएको आकस्मिक तथा महाविनाशकारी बाढीका कारण प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा उद्धार, राहत तथा पुनःस्थापनाको अभियानलाई तीव्र बनाउने जनाएको छ।

पार्टीले बुधबार प्रेस वक्तव्य जारी गर्दै प्राकृतिक विपत्तिबाट ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकहरूको पीडामा साथ दिँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायहरूसमक्ष आग्रह गरिएको छ।

वक्तव्यअनुसार घटना लगत्तैदेखि नेकपा (एमाले) बागमती प्रदेश कमिटी, जिल्ला तथा पालिका कमिटीहरू, जनसंगठन तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी उद्धार तथा राहत वितरणको कार्यमा निरन्तर सक्रिय रहेका छन्।

केन्द्रीय कार्यालयको परामर्शबमोजिम उद्धार, राहत तथा पुनःस्थापनाको कार्यलाई अझ व्यवस्थित, द्रुत र सहज बनाउन बागमती प्रदेश कमिटीले तत्कालदेखि कार्यान्वयन गर्ने गरी विभिन्न समिति गठन गरेको जनाएको छ।

प्रदेश कमिटीले वाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति गठन गर्दै सम्बन्धित जिल्ला कमिटीका अध्यक्षलाई संयोजकको जिम्मेवारी दिएको छ। समितिमा जिल्ला कमिटीका पदाधिकारी, सम्बन्धित जिल्लाका पार्टीका विभिन्न संरचनाका प्रतिनिधि तथा जनप्रतिनिधिहरूलाई समेटिएको बताइएको छ।

त्यसैगरी राहत व्यवस्थापन तथा परिचालनका लागि छुट्टै राहत समिति समेत गठन गरिएको छ। उक्त समितिको संयोजक सम्बन्धित जिल्लाका पार्टी केन्द्रीय तहका जिम्मेवार नेताहरू रहने व्यवस्था गरिएको वक्तव्यमा उल्लेख छ।

गठित समितिहरूले तत्कालदेखि विपद्ग्रस्त क्षेत्रमा खटिएर आवश्यक सहयोग, समन्वय र राहत परिचालनको काम अघि बढाउने जनाइएको छ।

यो कठिन मानवीय संकटको सामना गर्न पार्टीका सम्पूर्ण तहका कमिटी, जनप्रतिनिधि, जनसंगठन, सामुदायिक संघ–संस्था तथा स्वयंसेवकहरूलाई एकताबद्ध भई उद्धार, राहत तथा पुनःस्थापनाको अभियानमा सक्रियतापूर्वक जुट्न नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले हार्दिक आह्वान गरेको छ।

वक्तव्यमा नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुंगेलले हस्ताक्षर गरेका छन्।

गत भदौ १० गते रसुवाको भोटेकोशी खोलामा आएको आकस्मिक तथा विनाशकारी बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा फैलिँदा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति भएको छ। बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती, त्रिशूली बजार तथा देवीघाट लगायतका क्षेत्र प्रभावित भएका छन् भने सडक, पुल, बस्ती तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ।

प्रतिकृया दिनुहोस्