×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

स्वास्थ्य

हरियाली टोलको भुवनेश्वर मन्दिरमा धार्मिक विधिपूर्वक मूर्ति प्राण प्रतिष्ठा सम्पन्न

हरियाली टोलको भुवनेश्वर मन्दिरमा धार्मिक विधिपूर्वक मूर्ति प्राण प्रतिष्ठा सम्पन्न

हेटौँडा, पदमपोखरी । हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरीस्थित हरियाली टोलमा नवनिर्मित भुवनेश्वर मन्दिरमा धार्मिक विधिपूर्वक मूर्ति प्राण प्रतिष्ठा सम्पन्न भएको छ।

 

स्थानीय धर्म, संस्कृति तथा सामाजिक एकतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ निर्माण गरिएको मन्दिरमा विशेष पूजा तथा वैदिक मन्त्रोच्चारणका बीच मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो।

पुर्व मन्त्री ,नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य माननीय एकलाल श्रेष्ठको हातबाट मूर्तिको प्राण प्रतिष्ठा गरिएको कार्यक्रममा स्थानीय भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

सो अवसरमा प्रदेश सभा सदस्य श्रेष्ठले धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजमा आपसी भाइचारा, सद्भाव र नैतिक मूल्यमान्यतालाई संरक्षण तथा मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय समुदायको सक्रियता र एकताबाट यस्ता धार्मिक संरचनाको निर्माण हुनु सकारात्मक र प्रेरणादायी कार्य भएको उल्लेख गर्नुभयो।

स्थानीय बासिन्दाहरूको सामूहिक प्रयास र सक्रिय सहभागिताबाट निर्माण सम्पन्न भएको भुवनेश्वर मन्दिरले आगामी दिनमा पदमपोखरी क्षेत्रकै महत्वपूर्ण धार्मिक तथा आस्थाको केन्द्रका रूपमा पहिचान बनाउने विश्वास गरिएको छ।

मूर्ति प्राण प्रतिष्ठा समारोहमा टोल विकास समितिका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा ठूलो संख्यामा सर्वसाधारण भक्तजनहरूको उपस्थिति रहेको थियो।

नवनिर्मित मन्दिरमा धार्मिक विधिअनुसार पूजा–आराधना सम्पन्न भएपछि हरियाली टोलमा धार्मिक उत्साह र उल्लासको वातावरण छाएको स्थानीयहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्